नबिल बैंकले कमायो ७ अर्ब ९० करोड रुपैयाँभन्दा बढी नाफा

प्रतिशेयर आम्दानी २८.३६ रुपैयाँ, वितरणयोग्य प्रतिशेयर आम्दानी १९.१० रुपैयाँ 

बुधबार, २० श्रावण २०८३, राति ११:३३
Font Size: 20px

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले नाफा, सञ्चालन आम्दानी, निक्षेप, कर्जा तथा सम्पत्ति गुणस्तरलगायत अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफामा भएको यो वृद्धि सञ्चालन आम्दानी बढ्नु तथा सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइने रकम (Impairment Charges) घट्नु मुख्य कारण मानिएको छ।

बैंकको सञ्चालन नाफा (Operating Profit) पनि २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको मुख्य बैंकिङ कारोबारबाट हुने आम्दानी अझ सुदृढ बन्दै गएको संकेत गर्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी (Net Interest Income) ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी (Total Operating Income) ६.३२ प्रतिशतले वृद्धि भई २२ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको शुल्क तथा कमिसन आम्दानी पनि ३.२७ प्रतिशतले बढेको छ।

बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँ मा सीमित भएको छ। यसले सम्पत्ति गुणस्तरमा सुधार आएको संकेत गर्दछ।

व्यवसाय विस्तारतर्फ बैंकको ग्राहक निक्षेप १२.९५ प्रतिशतले बढेर ५९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी लगानी १२ प्रतिशतले वृद्धि भई ४६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा (NPL) ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशत मा झरेको छ, जुन सकारात्मक संकेत हो।

शेयरधनीका लागि प्रतिशेयर आम्दानी (EPS) २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९.१० रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ पुगेको छ।

बैंकको पूँजी कोष तथा जोखिम भारित सम्पत्तिको अनुपात (CAR) १२.३७ प्रतिशत रहेको छ भने कर्जा–निक्षेप अनुपात (CD Ratio) ८०.१८ प्रतिशत कायम भएको छ। बैंकको आधार दर (Base Rate) ५.८३ प्रतिशतबाट घटेर ४.४४ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर (Spread Rate) पनि ३.१८ प्रतिशतमा सीमित भएको छ।

समग्रमा नबिल बैंकले नाफा, व्यवसाय विस्तार र सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गर्दै सन्तुलित वित्तीय प्रदर्शन गरेको देखिन्छ।

प्रतिक्रिया 0