निक्षेप ६६१ अर्ब पुग्दा कर्जा ५५१ अर्ब
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्त सम्मको तथ्यांकअनुसार विकास बैंकहरूको समग्र वित्तीय अवस्था सार्वजनिक भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको यो विवरण विकास बैंकहरूले बुझाएका लेखापरीक्षण हुन बाकी वित्तीय विवरणमा आधारित छ ।
विकास बैंकहरूको कुल निक्षेप रु. ६ खर्ब ६१ अर्ब ९१ करोड पुगेको छ। यस अवधिमा बैंकहरूले कुल रु. ५ खर्ब ५१ अर्ब ४६ करोड कर्जा प्रवाह गरेका छन्। निक्षेपको तुलनामा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४.१० प्रतिशत रहेको छ। त्यस्तै, बैंकहरूको कुल तरलता अनुपात २८.०६ प्रतिशत र वैधानिक तरलता अनुपात (एसएलआर) २५.९५ प्रतिशत रहेको छ।
विकास बैंकहरूको कुल चुक्ता पुँजी रु. ४५ अर्ब ४९ करोड, कोर पुँजी रु. ६४ अर्ब २६ करोड र कुल पुँजी कोष रु. ७९ अर्ब ८१ करोड पुगेको देखिन्छ। जोखिमभारित सम्पत्तिको तुलनामा कुल पुँजी पर्याप्तता अनुपात (सीएआर) १४.५७ प्रतिशत र कोर क्यापिटल अनुपात (सीसीएआर) ११.७३ प्रतिशत रहेको छ।
यद्यपि, खराब कर्जाको अवस्था भने बैंकअनुसार फरक देखिएको छ। विकास बैंकहरूको औसत एनपीएल ५.३७ प्रतिशत रहेको छ। कर्णाली डेभलपमेन्ट बैंकको अवस्था भने निकै कमजोर देखिएको छ। राष्ट्र बैंकको विवरणअनुसार उक्त बैंकको एनपीएल ९७.४५ प्रतिशत, नेट तरलता ०.८२ प्रतिशत र सीएआर ऋणात्मक १४२.६३ प्रतिशत रहेको छ। कर्णालीको कुल निक्षेप करिब रु. ४ अर्ब २९ करोड र कुल कर्जा करिब रु. २ अर्ब ४४ करोड रहेको तथ्यांकमा उल्लेख छ।
समग्रमा हेर्दा विकास बैंकहरूको निक्षेप, कर्जा तथा तरलता स्थिति तुलनात्मक रूपमा सन्तुलित देखिए पनि खराब कर्जाको उच्च दर भएका केही संस्थाले क्षेत्रगत जोखिम बढाएको तथ्यांकले देखाउँछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो तथ्यांक २०८३ असार मसान्तसम्मको हो र लेखापरीक्षण हुन बाकी विवरणमा आधारित भएकाले अन्तिम वित्तीय विवरणमा केही परिवर्तन हुन सक्नेछ।
No advertisements available
प्रतिक्रिया 0