मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

सोमबार, २२ भदौ २०८३, बिहान ११:२९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।

बैंकका अनुसार २०८३ भदौ १९ गते जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्र (Memorandum of Understanding–MoU) मा हस्ताक्षर भएको हो। तीनवटै संस्थाका सम्बन्धित प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन्।

वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन तथा मूल्यांकन गरिनेछ। यस क्रममा दुवै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (Due Diligence), शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।

तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानुनी एवं नियामकीय व्यवस्थाअनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया 0