काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौँ वार्षिक साधारणसभा असोज २३ गते आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको १९१औँ बैठकको निर्णयअनुसार साधारणसभा अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान ८ बजे बस्नेछ। सभाका लागि उपस्थित पुस्तिका बिहान ५ बजेदेखि ९ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, पुँजीमा भएको परिवर्तनलगायतका वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
साधारणसभामा बैंकको चुक्ता पुँजी रु. २१ अर्ब ६० करोड को ५.२६३२ प्रतिशत का दरले हुने रकम रु. १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्तावसमेत पेस हुनेछ। साधारणसभाबाट स्वीकृति तथा नेपाल सरकार, अर्थ मन्त्रालयको आवश्यक स्वीकृति प्राप्त भएपछि उक्त लाभांश वितरण गरिने सूचनामा उल्लेख छ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूहमा प्रतिनिधित्व गर्ने गरी निर्वाचित दुई सञ्चालकमध्ये लिमा अधिकारी आचार्यले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भइसकेकाले रिक्त स्थानमा सोही समूहको प्रतिनिधित्व गर्ने अनिता रायमाझीलाई सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गरिनेछ।
बैंकले साधारणसभामा सहभागी हुन चाहने सेयरधनीका लागि सेयरधनी दर्ता किताब असोज १४ गते एक दिन बन्द रहने जनाएको छ। अर्थात् असोज १४ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जबाट कारोबार भई बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त सेयर नामसारीका आधारमा कायम सेयरधनीले साधारणसभामा सहभागी भई मतदान गर्न सक्नेछन्। साथै, सभामा भाग लिन चाहने सेयरधनीले प्रवेशपत्रसहित आवश्यक सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र परिचय खुल्ने प्रमाण साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
No advertisements available
प्रतिक्रिया 0