रामेछाप । विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरी ठगी गर्न खोजेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सामाजिक सञ्जालमा नक्कली बैंक स्टेटमेन्ट तयार गरी आफ्नो क्यूआर कोडसमेत राखेर प्रचार गर्ने गोकुलगंगा गाउँपालिका–२, ठोसे निवासी ३३ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बाढी प्रभावितको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने गरी नक्कली स्टेटमेन्ट तयार गरिएको थियो। उक्त नक्कली विवरणमा च्याटजीपीटीको प्रयोग गरिएको र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी आफ्नो क्यूआर कोडसमेत राखिएको प्रहरीको भनाइ छ। यसरी विपद्को संवेदनशील अवस्थालाई उपयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम संकलन गर्न खोजिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले विपद् तथा राहतका नाममा सामाजिक सञ्जालमा फैलाइएका आर्थिक सहयोगसम्बन्धी विवरण र क्यूआर कोड प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आधिकारिक निकायबाट पुष्टि नगरी सामाजिक सञ्जालमा आएका राहत तथा सहयोगसम्बन्धी अपिलमा रकम नपठाउन प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
No advertisements available
प्रतिक्रिया 0