काठमाडौं । रसुवालगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय, जनधन तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न प्रतिबद्ध रहेको जनाएको छ।
संघले जारी गरेको प्रेस नोटअनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भए पनि केही कर्मचारीसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। बाढी तथा डुबानका कारण केही बैंकका शाखासमेत प्रभावित भएका छन्। विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती देखिएको संघले जनाएको छ।
यद्यपि बैंकहरूले उपलब्ध स्रोत, साधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम राख्न र प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयास गरिरहेका छन्। संघले विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ।
नेपालको बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनर्स्थापना प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघले जनाएको छ। प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्याउन सदस्य बैंकहरूले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने र राहत, उद्धार, सेवा निरन्तरता तथा पुनर्स्थापनाका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको संघले जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0