काठमाडौँ । नबिल बैंक र धुलिखेल अस्पताल बीच अत्यावश्यक स्वास्थ्य सेवा तथा पुनःस्थापना सेवा सुदृढीकरणका लागि ६ करोड रुपैयाँ बराबरको रणनीतिक साझेदारी भएको छ। सम्झौताअन्तर्गत धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिने, कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा विस्तार गरिने र डायलासिस सेवालाई थप सुदृढ बनाइनेछ।
तीन वर्षका लागि लागू हुने यस सहकार्यबाट विशेषगरी जलनका बिरामी, कृत्रिम अंग आवश्यक पर्ने व्यक्ति तथा डायलासिस सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। नबिल बैंकले यसलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो साझेदारीले गरिब तथा सीमान्तकृत समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। धुलिखेल अस्पतालले पनि यस सहकार्यबाट जलन उपचार, पुनःस्थापना तथा डायलासिस सेवाको क्षमता विस्तार हुने जनाएको छ।
यसअघि पनि नबिल बैंकले विभिन्न प्रदेशमा जलनका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन तथा कृत्रिम अंग केन्द्रहरूलाई सहयोग गर्दै आएको छ।
प्रतिक्रिया 0