साउनका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

बिहीबार, ३२ असार २०८३, बिहान १०:१३
Font Size: 20px

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार अधिकांश बैंकहरूले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत निक्षेपमा थप कटौती गरेका छन्।

सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२५८ प्रतिशतबाट घटेर ४.१६७५ प्रतिशत पुगेको छ। यसले औसतमा ०.०९०५ प्रतिशत बिन्दुको कमी देखाउँछ। यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशत मा झरेको छ, जुन ०.०६४ प्रतिशत बिन्दुको गिरावट हो।

बैंकहरूमध्ये एनएमबी बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा ०.५० प्रतिशत बिन्दु ब्याजदर घटाएको छ। राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.७५ प्रतिशत बिन्दु तथा संस्थागत निक्षेपमा १ प्रतिशत बिन्दुसम्म कटौती गरेको छ। ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर घटाएका छन्।

यता नेपाल बैंकले भने संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याउँदै १ प्रतिशत बिन्दुले वृद्धि गरेको छ। अन्य अधिकांश बैंकहरूले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

व्यक्तिगत निक्षेपमा नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम राखेका छन् भने एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो महिनाको ४.७५ प्रतिशत बाट क्रमशः ४.५ प्रतिशत र ४ प्रतिशत मा झारेका छन्।

ब्याजदर घट्ने क्रमले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता, कम कर्जा माग तथा बैंकहरूबीच निक्षेप संकलनको प्रतिस्पर्धा कमजोर बन्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। ब्याजदर घट्दा बचतकर्ताको प्रतिफल केही घट्ने भए पनि कर्जाको लागत कम हुने भएकाले आगामी दिनमा कर्जा विस्तार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया 0