काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा साउन ५ गते आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बैंकका अनुसार कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहक महानुभावहरूले रक्तदान गर्दै मानवीय सेवामा महत्वपूर्ण योगदान दिएका छन्। नियमित रक्तदानले अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत बैंकले समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्याउने बैंकको लक्ष्य रहेको छ।
प्रतिक्रिया 0