“जनता बैंकमा होइन, बैंक जनतामाझ जानुपर्छ” भन्ने नारालाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंक ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थाहरूलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।
स्वास्थ्य सेवा सहज बनाउने, समावेशीतालाई प्रवर्द्धन गर्ने तथा दिगो विकास लक्ष्य (SDGs) प्रति आफ्नो प्रतिबद्धता थप सुदृढ गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी–१, कैलालीस्थित सेती प्रादेशिक अस्पताल लाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ। उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउनुका साथै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित युवा अपाङ्ग संगठन नेपाल लाई पनि १० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ। उक्त सहयोगले फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुग्नुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेषगरी “Good Health and Well-being” तथा “Reduced Inequalities” सम्बन्धी दिगो विकास लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 0