बाढीमा बगेको भल्टबाट रकम निकाल्ने २९ जना पक्राउ

शनिबार, १३ भदौ २०८३, बिहान १०:४९

काठमाडौं । धादिङमा बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको जनाएको छ।

धादिङको गल्छी क्षेत्रमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको भल्ट स्थानीयले फोडेर त्यसभित्र रहेको रकम निकालेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। 

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय धादिङले २९ जनालाई पक्राउ गरी उनीहरूबाट ९२ लाख रुपैयाँ बरामद गरेको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

बाढीले रसुवाका विभिन्न बैंकका शाखा बगाएपछि केही भल्टसमेत नदीले बगाएको थियो। नेपाल बैंकर्स संघका अनुसार बाढीबाट माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकलगायतका शाखा प्रभावित भएका छन्।

बाढीले बगाएका भल्टमध्ये एउटा धादिङको गल्छी क्षेत्रमा फेला परेको र अर्को भल्ट धादिङ प्रहरी कार्यालयमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। गल्छीमा फेला परेको भल्ट कुन बैंकको हो र त्यसमा कति रकम थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया 0