काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने तीन वाणिज्य बैंक तथा एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कारबाही गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न नियामकीय कमजोरी तथा निर्देशन कार्यान्वयनमा देखिएको लापरवाहीका आधारमा चेतावनी तथा सुधारात्मक निर्देशन दिइएको छ।
राष्ट्रिय वाणिज्य बैंकलाई बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको छ। त्यस्तै, कृषि विकास बैंकलाई पनि सम्बन्धित कानुनी निकायको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको विषयमा चेतावनी दिइएको राष्ट्र बैंकले जनाएको छ।
प्रभु बैंकको हकमा भने निरीक्षणबाट देखिएका कमजोरी समयमै सुधार नगरेको, सुधार योजना प्रभावकारी रूपमा कार्यान्वयन नगरेको तथा नियामकीय निर्देशनको पूर्ण पालना नगरेको भन्दै सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न निर्देशन दिइएको छ।
यसैगरी, राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई बैंकिङ निर्देशन उल्लंघन गरेको निष्कर्षसहित ५ लाख रुपैयाँ नगद जरिवाना गरेको जनाएको छ। ऋण वर्गीकरण, आवश्यक कर्जा नोक्सानी व्यवस्था तथा राष्ट्र बैंकमा पेश गरिएको विवरणमा देखिएको कमजोरीका आधारमा उक्त कारबाही गरिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नियामकीय निर्देशनको पूर्ण पालना गर्न तथा देखिएका कमजोरी तत्काल सुधार गर्न पुनः निर्देशन दिएको छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया 0