बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

बिहीबार, ११ भदौ २०८३, दिउँसो १:०९

काठमाडौं । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कुमारी बैंक लिमिटेडले ३ करोड ३९ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सरकारसँग समन्वय गरी उक्त योगदान गरेको जनाएको छ।

यससँगै बैंकले खोज तथा उद्धार कार्यका लागि करिब ३९ लाख रुपैयाँ बराबरका आवश्यक सामग्रीसमेत उपलब्ध गराएको छ। बैंकले नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा ५ वटा एआई जडित निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक पठाएको जनाएको छ।

हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। यस्तो अवस्थामा प्रभावित नागरिकलाई खाद्यान्न, अस्थायी आश्रय तथा अन्य अत्यावश्यक सहयोग उपलब्ध गराउन बैंकले आफ्नो तर्फबाट योगदान गरेको हो।

कुमारी बैंकले विपद्को समयमा प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित खोजी र उद्धारको कामना गरेको छ।

प्रतिक्रिया 0