नबिल बैंक र चौधरी फाउन्डेसनको १५ करोडको राहत प्याकेज घोषणा

शनिबार, १३ भदौ २०८३, बिहान ११:०५

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपहिरो प्रभावित परिवारका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। तत्कालीन राहतदेखि अस्थायी आवास निर्माण र दीर्घकालीन पुनर्स्थापनासम्मका कार्यक्रम समेटिएको प्याकेज प्रभावित समुदायलाई लक्षित गरिएको हो।

कार्यक्रमअन्तर्गत बाढीपहिरोबाट अति प्रभावित रसुवा र नुवाकोटमा एक–एक वटा व्यवस्थित राहत शिविर स्थापना गरिनेछ। शिविरमा दैनिक भोजन, स्वच्छ खानेपानी, प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ तथा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्था गरिने जनाइएको छ।

त्यस्तै, पूर्ण रूपमा क्षतिग्रस्त वा बस्न अयोग्य भएका घरका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। चौधरी फाउन्डेसनले यसअघि भूकम्पपछिको पुनर्निर्माणमा प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित आवास निर्माण गरिने र स्थानीय तह तथा सरकारसँगको सहकार्यमा काम अघि बढाइने बताइएको छ।

पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ। प्रभावित क्षेत्रमा राहत सामग्री वितरण सुरु भइसकेको जनाइएको छ।

कार्यक्रमको नेतृत्व तथा समन्वय चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले गर्ने बताइएको छ। तत्कालीन राहतपछि स्थायी आवास, आवश्यक सामुदायिक पूर्वाधार निर्माण तथा दीर्घकालीन स्वास्थ्य सेवा र रोग नियन्त्रणलगायतका क्षेत्रमा समेत सहयोग गर्ने योजना रहेको छ।

बाढीपहिरोबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्दै उनीहरूलाई दीर्घकालीन रूपमा पुनःस्थापित गर्ने उद्देश्यले बहुचरणीय कार्यक्रम अघि बढाइएको चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएको छ।

प्रतिक्रिया 0