एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ साझेदारी

सोमबार, २६ आश्विन २०८३, बेलुका ५:३०


काठमाडौं । एनएमबी बैंकले नेपाल फिनटेक एक्स्पो २०२६ का अवसरमा र्‍यापिड टेक प्रालिसँग साझेदारी गर्ने घोषणा गरेको छ। यस साझेदारीमार्फत बैंकले व्यावसायिक ग्राहकलाई उनीहरूले प्रयोग गर्दै आएका सफ्टवेयर प्रणालीबाटै विभिन्न बैंकिङ सेवा उपलब्ध गराउने तयारी गरेको छ।

बैंकका अनुसार प्रस्तावित एकीकरणपछि कर्पोरेट तथा व्यावसायिक ग्राहकले आफ्नो विद्यमान सफ्टवेयर प्रणालीबाटै स्वचालित भुक्तानी (अटोमेटेड पेमेन्ट), तत्काल कारोबार मिलान (इन्स्ट्यान्ट रिकन्सिलिएसन) तथा दैनिक बैंकिङसम्बन्धी काम गर्न सक्नेछन्। यसले व्यावसायिक कारोबारलाई थप सहज, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, व्यक्तिगत ग्राहकले पनि व्यापारी तथा सेवा प्रदायकका भुक्तानी बिन्दुमा थप सहज र छरितो कारोबारको सुविधा पाउने बैंकले जनाएको छ। बैंकिङ सेवालाई ग्राहकले प्रयोग गरिरहेका प्रणाली तथा व्यावसायिक प्रक्रियासँग जोड्दा कारोबारका विभिन्न चरणमा लाग्ने समय र झन्झट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले यी डिजिटल बैंकिङ सुविधाहरू छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ। यो साझेदारीले बैंकिङ सेवालाई परम्परागत बैंकिङ प्रणालीबाट ग्राहकका दैनिक व्यावसायिक गतिविधि र सफ्टवेयरमै एकीकृत गर्ने दिशामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0