गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, २७ आश्विन २०८३, दिउँसो ३:३६


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभाले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको साधारणसभा २०८३ असोज २६ गते सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएसँगै शेयरधनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पनि पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित भएको छ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजीमा ६० करोड २१ लाख रुपैयाँभन्दा बढी वृद्धि हुनेछ। यससँगै बैंकको पूँजी आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0