माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा

सोमबार, २९ भदौ २०८३, बिहान ९:५८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले कायम वितरणयोग्य मुनाफा तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट साधारण तथा अग्राधिकार सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ। 

बैंकले साधारण सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकका अनुसार बोनस सेयरका लागि रु. ३६ करोड २५ लाख ६५ हजार ३४७ तथा सोही बराबरको रकम नगद लाभांशका रूपमा प्रस्ताव गरिएको छ। नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको करसमेत समावेश हुने उल्लेख छ।

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसको कुल रकम रु. ७ करोड ४५ लाख ९ हजार ७०१ रहेको छ, जसमा करसमेत समावेश छ। बैंकले अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने जनाएको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै वितरण हुनेछ। 

प्रतिक्रिया 0