एनएमबी बैंकको नेतृत्वमा ६५ मेगावाट दूधखोलाको वित्तीय व्यवस्थापन

हाइड्रोसेलेक्ट उपकरणमार्फत ईएसजी जोखिम पहिचान

मंगलबार, २६ श्रावण २०८३, बिहान ९:४४
Font Size: 20px

काठमाडौं । मनाङ जिल्लामा निर्माण भइरहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबी बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड सहभागी भएका छन्। एनएमबी बैंकले बैंकिङ समूहको नेतृत्व गरेको छ।

करिब १२ अर्ब ८९ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा बैंकिङ क्षेत्रबाट आवश्यक ऋण लगानी जुटाइएको हो। आयोजनाको बाँकी लगानी प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि तथा माउन्टेन इनर्जी समूह ले बेहोर्नेछ।

आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रियामा आर्थिक पक्षसँगै वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी जोखिमलाई समेत प्राथमिकता दिइएको छ। एनएमबी बैंकले जलविद्युत् दिगोपना गठबन्धन (HSA) को सहकार्यमा जलविद्युत् आयोजनाको प्रारम्भिक मूल्यांकनमा प्रयोग हुने हाइड्रोसेलेक्ट उपकरण प्रयोग गरी आयोजनासँग सम्बन्धित सम्भावित वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी जोखिम पहिचान गरेको जनाएको छ।

हाइड्रोसेलेक्ट उपकरणले जलविद्युत् आयोजनाको प्रारम्भिक चरणमै सम्भावित वातावरणीय तथा सामाजिक जोखिम पहिचान गर्न र वित्तीय निर्णय प्रक्रियामा ती पक्षलाई समेट्न सहयोग गर्छ। यसबाट आयोजनाको जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पक्षलाई प्रारम्भिक चरणमै मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ।

मनाङमा निर्माण हुने दूधखोला जलविद्युत् आयोजना नेपालको नवीकरणीय ऊर्जा उत्पादन क्षमता विस्तारका साथै दिगो ऊर्जा विकासका दृष्टिले महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। आयोजनामा बैंकिङ क्षेत्रबाट भएको लगानीले जलविद्युत् क्षेत्रमा दीर्घकालीन वित्तीय स्रोत परिचालनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले आयोजनाको वित्तीय व्यवस्थापनलाई नेपालमा दिगो जलविद्युत् विकास प्रवर्द्धन तथा देशको शून्य कार्बन उत्सर्जनतर्फको संक्रमणलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेका बेला आयोजनाको आर्थिक सम्भाव्यतासँगै वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी जोखिमको मूल्यांकनलाई समेत प्राथमिकता दिन थालिएको छ। दूधखोला आयोजनामा हाइड्रोसेलेक्ट उपकरणको प्रयोगले नेपालमा दिगो तथा जिम्मेवार परियोजना वित्तीय व्यवस्थापनको अभ्यासलाई थप बल पुग्ने देखिएको छ।

प्रतिक्रिया 0