काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। साथै, बैंकका अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक आधारमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण तथा बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण पारित गर्ने एजेन्डासमेत अघि बढाएको थियो। त्यस्तै, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको थियो।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। बैंकको चुक्ता पुँजी हाल करिब रु. १४ अर्ब ७९ करोड रहेकोमा १० प्रतिशत बोनस शेयरपछि करिब रु. १६ अर्ब २६ करोड पुग्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि साधारणसभामा समावेश गरिएको थियो। बैंकले २५औँ साधारणसभामार्फत विगत एक वर्षको वित्तीय तथा व्यावसायिक प्रगतिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा समेत शेयरधनीलाई जानकारी गराएको छ।
No advertisements available
प्रतिक्रिया 0