काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित ग्राहकलाई वित्तीय सेवा सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न सहजीकरण गर्न भनेको हो।
सूचनाअनुसार, त्यस्ता ग्राहकले संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकका अन्य विवरणका आधारमा ग्राहक यकिन गरी बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउनुपर्नेछ।
राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण आवश्यक कागजात गुमाएका ग्राहकलाई बैंकिङ कारोबारबाट वञ्चित हुन नदिन यस्तो व्यवस्था गरेको जनाएको छ।
यो व्यवस्था विशेषगरी हालै रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0