काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरी र गुनासो सम्बोधन गर्न एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Anti-Cyber Scam Centre–IACSC) सञ्चालनमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त केन्द्रको हटलाइन नम्बर १२४७ सार्वजनिक गरेको हो।
प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोमा विभिन्न सरोकारवाला निकायलाई समेटेर स्थापना गरिएको उक्त केन्द्र २४ सै घण्टा सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रमार्फत साइबर स्क्यामसम्बन्धी घटनाको उजुरी तथा गुनासो सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेका व्यक्तिले तत्काल १२४७ नम्बरमा सम्पर्क गरी जानकारी वा उजुरी दिन सक्नेछन्। त्यसपछि उक्त नम्बरबाट प्राप्त जानकारीका आधारमा आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ।
त्यस्तै, ठगीमा परेको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई पनि तत्काल जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। यसबाट बैंक खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्न सकिनेछ।
डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अनलाइन भुक्तानीको प्रयोग बढ्दै जाँदा साइबर तथा वित्तीय ठगीका घटना पनि चुनौतीका रूपमा देखिएका छन्। यस्तो अवस्थामा एकीकृत प्रतिकार्य केन्द्रको सञ्चालनले ठगीसम्बन्धी उजुरी तथा गुनासो सम्बोधन गर्न र वित्तीय सुरक्षासम्बन्धी समन्वयलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन र ठगीमा परेमा ढिलाइ नगरी १२४७ मा सम्पर्क गर्न आग्रह गरेको छ।
No advertisements available
प्रतिक्रिया 0