बैंकहरूलाई एटीएमबाट १०० दरका नोट वितरण गर्न राष्ट्र बैंकको आग्रह

सोमबार, २९ भदौ २०८३, दिउँसो २:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएमबाट मुख्यतः १ हजार र ५ सय रुपैयाँ दरका नोट वितरण गर्दै आएका छन्। तर ग्राहक वर्गबाट १०० रुपैयाँ दरका नोटसमेत एटीएमबाटै उपलब्ध गराउन माग आउने गरेको भन्दै राष्ट्र बैंकले यसतर्फ ध्यान दिन आग्रह गरेको छ।

नजिकिँदै गरेको बडादसैंलाई लक्षित गर्दै १०० रुपैयाँ दरका नोट एटीएमबाट वितरण गर्न सकिए बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड उल्लेख्य रूपमा घट्ने राष्ट्र बैंकको अपेक्षा छ। यसले सर्वसाधारण ग्राहकलाई सहज हुनुका साथै चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा यस्तो व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएको उल्लेख गर्दै सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघमार्फत आग्रह गरेको छ।

प्रतिक्रिया 0