काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्त सम्मको वित्त कम्पनीहरूको प्रमुख वित्तीय सूचकांकअनुसार १४ वटा वित्त कम्पनीमा कुल निक्षेप १ खर्ब ४२ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यी कम्पनीहरूले कुल १ खर्ब ७ अर्ब ३६ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक वित्तीय संस्थाले बुझाएका अपरिष्कृत वित्तीय विवरणमा आधारित रहेको छ ।
तथ्यांकअनुसार वित्त कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब १५ करोड ४ लाख रुपैयाँ र कुल पुँजी कोष १६ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ रहेको छ । समग्र वित्त कम्पनीको कोर पुँजी अनुपात (सीसीएआर) ११.६० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात (सीएआर) १४.३६ प्रतिशत रहेको छ । त्यस्तै, कुल कर्जाको तुलनामा निक्षेपको अनुपात (सीडी रेसियो) ७५.२१ प्रतिशत र खुद तरलता अनुपात ३४.७२ प्रतिशत रहेको छ । राष्ट्र बैंकको विवरणमा वित्त कम्पनीहरूको औसत खराब कर्जा (एनपीएल) ७.६६ प्रतिशत देखिएको छ ।
कम्पनीगत रूपमा हेर्दा जानकी फाइनान्सको अवस्था सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । यसको सीसीएआर र सीएआर दुवै माइनस ६.१४ प्रतिशत छन् भने खराब कर्जा अनुपात ६१.५५ प्रतिशत पुगेको छ । पोखरा फाइनान्सको एनपीएल २०.८४ प्रतिशत, नेपाल फाइनान्सको १३.८३ प्रतिशत र बेस्ट फाइनान्सको १३.६९ प्रतिशत रहेको छ । अर्कोतर्फ, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको एनपीएल ५.२० प्रतिशत र मल्टिपर्पस फाइनान्सको ३.३० प्रतिशत रहेको छ । राष्ट्र बैंकले छुट्टै ‘समस्याग्रस्त वित्त कम्पनी’ शीर्षकमा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई राखेको छ, जहाँ दुवैको एनपीएल १०० प्रतिशत देखाइएको छ ।
No advertisements available
प्रतिक्रिया 0