बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको आग्रह

शनिबार, १३ भदौ २०८३, बेलुका ४:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैको प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता कायम राख्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत रसुवालगायत प्रभावित क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध हुन नदिन आवश्यक वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न प्रयास भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट सेवा स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न पनि बैंकहरूलाई प्रोत्साहन गरिएको छ ।

विपद्का कारण सम्पर्कमा आउन नसकेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनप्रति राष्ट्र बैंकले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा सेवा प्रवाहलाई प्राथमिकता दिन आग्रह गरेको छ । ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै संवेदनशीलतापूर्वक आवश्यक सहयोग गर्न राष्ट्र बैंकले सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ ।


प्रतिक्रिया 0