एभरेस्ट बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न असोज १४ मा साधारणसभा

शुक्रबार, १९ भदौ २०८३, दिउँसो २:५८

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभा आगामी २०८३ साल असोज १४ गते बुधबार काठमाडौंको भाटभटेनीस्थित अन्नपूर्ण ब्यांक्वेटमा बिहान १० बजे आयोजना हुने भएको हो।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, सञ्चालक समितिको सिफारिसअनुसार ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गरिने भएको छ।

बैंकले बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारणसभामा पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।

साधारणसभा प्रयोजनका लागि बैंकले २०८३ असोज १ गते बिहीबार एक दिन शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने जनाएको छ। यसअनुसार बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया 0