लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

बुधबार, २८ आश्विन २०८३, दिउँसो १:३९


काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको ३३०औँ बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ।

भट्टराई हालसम्म लक्ष्मी सनराइज बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा प्रमुख कर्जा अधिकृत (चिफ क्रेडिट अफिसर) का रूपमा कार्यरत थिए। बैंकको उच्च व्यवस्थापकीय तहमा रहेर उनले विशेषगरी कर्जा तथा क्रेडिट व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्दै आएका थिए।

भट्टराईको नेतृत्वमा बैंकको व्यवसाय विस्तारसँगै कर्जा गुणस्तर, जोखिम व्यवस्थापन, निक्षेप परिचालन, ग्राहक सेवा तथा डिजिटल बैंकिङको विस्तारलाई थप प्रभावकारी बनाउने चुनौती रहनेछ। विशेषगरी बैंकिङ क्षेत्रमा कर्जा जोखिम र सम्पत्तिको गुणस्तर महत्वपूर्ण विषय बन्दै गएको अवस्थामा चिफ क्रेडिट अफिसरका रूपमा प्राप्त उनको अनुभव नयाँ जिम्मेवारीमा उपयोगी हुने अपेक्षा गरिएको छ।

यसअघि बैंकको सीईओका रूपमा कार्यरत अजयविक्रम शाहको दोस्रो कार्यकाल पूरा भएपछि बैंकले भट्टराईलाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यससँगै कात्तिक १५ गतेदेखि लक्ष्मी सनराइज बैंकको व्यवस्थापकीय नेतृत्व भट्टराईले सम्हाल्नेछन्।

प्रतिक्रिया 0