उर्जा क्षेत्रमा बैंकहरूको ५ खर्बभन्दा बढी कर्जा,
काठमाडौं– नेपालका वाणिज्य बैंकहरूको ऊर्जा क्षेत्रतर्फको कर्जा लगानी ५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको २०८३ असार मसान्तसम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा कुल रु. ५ खर्ब ३ अर्ब ८५ करोड कर्जा लगानी गरेका छन्। यो बैंकहरूको कुल कर्जा पोर्टफोलियोको औसत ९.५२ प्रतिशत हो।
रकमका आधारमा नबिल बैंक ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक बनेको छ। नबिलको ऊर्जा क्षेत्र कर्जा रु. ५३ अर्ब ५३ करोड रहेको छ। त्यसपछि कुमारी बैंकको रु. ५२ अर्ब ६० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रु. ३६ अर्ब ४८ करोड र लक्ष्मी सनराइज बैंकको रु. ३४ अर्ब १२ करोड रहेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले रु. ३२ अर्ब ९ करोड, एनएमबी बैंकले रु. ३० अर्ब ६८ करोड र सानिमा बैंकले रु. ३० अर्ब ४५ करोड ऊर्जा क्षेत्रमा लगानी गरेका छन्। एभरेष्ट बैंकको रु. २७ अर्ब ६७ करोड, राष्ट्रिय वाणिज्य बैंकको रु. २७ अर्ब ४० करोड र प्राइम कमर्सियल बैंकको रु. २६ अर्ब ८७ करोड ऊर्जा क्षेत्र कर्जा रहेको छ।
कुल कर्जा पोर्टफोलियोमा ऊर्जा क्षेत्रको हिस्सा हेर्दा भने कुमारी बैंक सबैभन्दा अगाडि छ। कुमारीको कुल कर्जामध्ये १७.४० प्रतिशत ऊर्जा क्षेत्रमा रहेको छ। सानिमा बैंकको १४.७४ प्रतिशत, सिटिजन्स बैंकको १३.६३ प्रतिशत, एनएमबी बैंकको ११.४५ प्रतिशत र एभरेष्ट बैंकको ११.१७ प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा छ।
यसैगरी, प्राइम कमर्सियल बैंकको १०.९९ प्रतिशत, नबिल बैंकको १०.९७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.६३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०.११ प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा रहेको छ। रकममा नबिल पहिलो भए पनि आफ्नो कुल कर्जा पोर्टफोलियोमा ऊर्जाको हिस्सा राख्ने मामिलामा कुमारी बैंक पहिलो देखिएको छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आगामी २०८५ असारभित्र कुल कर्जाको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। हाल औसत ऊर्जा कर्जा ९.५२ प्रतिशत रहेकाले लक्ष्यभन्दा कम रहेका बैंकहरूले आगामी अवधिमा ऊर्जा क्षेत्रमा कर्जा विस्तार गर्नुपर्ने देखिन्छ। यसले जलविद्युत् तथा अन्य ऊर्जा परियोजनामा बैंकिङ क्षेत्रको लगानी थप बढ्ने सम्भावना देखाएको छ।
No advertisements available
प्रतिक्रिया 0