प्रत्येक पालिकामा अपाङ्गमैत्री बैंक शाखा बनाउनुपर्ने

Saturday, 23 May 2026, 06:06 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशिक्षित सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार अब बैंकहरूले यस्ता सेवाग्राहीका लागि शाखामा विशेष काउन्टर तोकी प्राथमिकताका साथ सेवा दिनुपर्नेछ।

त्यस्तै, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ। बैंकहरूले आपसमा सहकार्य गरेर यस्तो शाखा सञ्चालन गर्न सक्नेछन्। अपाङ्गमैत्री शाखाको विवरण सम्बन्धित बैंकले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार एटीएम सेवा पनि अपाङ्गमैत्री बनाउनुपर्नेछ। विशेषगरी दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिका लागि Braille sign, audio support र सहज control button सहितको कम्तीमा एउटा एटीएम राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो एटीएमको विवरण पनि बैंकले वेबसाइटमा राख्नुपर्नेछ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा वेबसाइटलाई समेत अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ। दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले सहज रूपमा प्रयोग गर्न सक्ने गरी प्रणाली विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, बैंकहरूले जारी गर्ने डेबिट तथा क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। यसले कार्ड छुट्याउन तथा प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।


8 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0