समग्र व्यवसाय विस्तार सामान्य, बितरणयोग्य नाफा १ अर्ब ९० करोड
काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नाफासँगै कर्जा, निक्षेप तथा आम्दानीमा समेत वृद्धि गर्दै समग्र व्यवसाय विस्तारलाई सकारात्मक राखेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४९ प्रतिशतले बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंकको ग्राहक निक्षेप ५.४६ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ८.२९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जा विस्तार उच्च रहनुले बैंकको व्यवसायिक गतिविधि विस्तार भएको देखाउँछ।
आम्दानीतर्फ खुद ब्याज आम्दानी ३.३० प्रतिशतले बढेर ९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसन आम्दानी १५.०५ प्रतिशतले बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ५.८२ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
नाफा वृद्धिमा कर्जा जोखिम व्यवस्थापन खर्चमा आएको कमीले पनि साथ दिएको छ। बैंकको क्षतिअपूर्ति खर्च २ अर्ब ७२ करोडबाट घटेर १ अर्ब ७४ करोड रुपैयाँ मा झरेपछि सञ्चालन नाफा २६.९४ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको वितरणयोग्य नाफा १०.०५ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ८.९३ रुपैयाँबाट बढेर ९.१० रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि १६.५० रुपैयाँबाट बढेर १९.६३ रुपैयाँ पुगेको छ।
समग्रमा, कर्जा र निक्षेप विस्तार, ब्याज तथा गैरब्याज आम्दानी वृद्धि र नाफामा सुधारले प्राइम कमर्सियल बैंकको व्यवसायिक प्रदर्शन सकारात्मक रहेको देखाउँछ। यद्यपि, निष्क्रिय कर्जा अनुपात ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेकाले आगामी दिनमा व्यवसाय विस्तारसँगै कर्जा गुणस्तर कायम राख्नु बैंकका लागि महत्वपूर्ण चुनौती रहने देखिन्छ।
प्रतिक्रिया 0