एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

शुक्रबार, १२ भदौ २०८३, बिहान ६:२२

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा प्रदान गरेको हो।

बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बैंकका अनुसार भोटेकोशीमा आएको अकस्मात् बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति भएको अवस्थामा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको हो। बैंकले बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया 0