काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यस प्रतियोगिताको सुरुवात गरेको हो। यस वर्ष खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दौड आयोजना गरिनेछ। कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर तथा पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुनेले जनही ५० हजार, द्वितीय हुनेले ३५ हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुनेले जनही ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र तथा मेडलसमेत प्रदान गरिने बैंकले जनाएको छ।
दौडको रुटसमेत निर्धारण गरिएको छ। खुलातर्फको १० किलोमिटर दौड गरिमा विकास बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा आएर सम्पन्न हुनेछ। कर्पोरेटतर्फको ५ किलोमिटर दौड भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर पुनः बालुवाटारमै आएर समापन हुनेछ।
प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आगामी कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत नाम दर्ता गराउन सक्नेछन्। दर्ताका लागि १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
गरिमा विकास बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।
No advertisements available
प्रतिक्रिया 0