काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा १ अर्ब १८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.९७ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ६.९० प्रतिशतले वृद्धि भई २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.३९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप ८.४८ प्रतिशतले बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ११.१८ प्रतिशतले वृद्धि भई ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी (EPS) १३.२४ रुपैयाँबाट बढेर २३.५२ रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा २६.६३ प्रतिशतले बढेर ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य ईपीएस १६.८६ रुपैयाँ कायम भएको छ। बैंकको प्रति सेयर नेटवर्थ १५९.४८ रुपैयाँ र पुँजी कोष अनुपात (Capital Fund to RWA) १३.७० प्रतिशत रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा (NPL) अघिल्लो वर्षको ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ। बैंकको आधार दर (Base Rate) भने ६.४१ प्रतिशतबाट घटेर ५.३८ प्रतिशत मा झरेको छ।
प्रतिक्रिया 0