मुक्तिनाथ विकास बैंकको नाफा १.५२ अर्ब

नाफा १२.४४ प्रतिशतले बढ्यो, ईपिएस १९ र डिपिएस ८.४५ रुपैयाँ 

बुधबार, २७ श्रावण २०८३, बिहान ११:०३
Font Size: 20px

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन नाफा २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा २ अर्ब १ करोड ५१ लाख रुपैयाँ थियो।

बैंकको कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशतले बढेर ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यसमध्ये खुद ब्याज आम्दानी ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशतले बढी हो। भने खुद शुल्क तथा कमिसन आम्दानी १.५० प्रतिशतले घटेर ५४ करोड ९८ लाख रुपैयाँ मा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको ग्राहक निक्षेप ५.२० प्रतिशतले बढेर १२३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ३.३८ प्रतिशतले बढेर १०० अर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ।

यता, बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ थियो। अर्थात् वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा ५०.१० प्रतिशतले घटेको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) १८.९८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपिएस १९.१६ रुपैयाँ थियो। त्यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी ८.४५ रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ भने १६१.८२ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको १६९.९५ रुपैयाँभन्दा कम हो।

बैंकको खराब कर्जा (NPL) भने बढेको छ। अघिल्लो वर्ष २.९७ प्रतिशत रहेको NPL बढेर ४.७७ प्रतिशत पुगेको छ। त्यस्तै, सिडि रेसियो ८३.८६ प्रतिशत रहेको छ भने पूँजी कोष अनुपात १३.४७ प्रतिशत पुगेको छ।

समग्रमा, मुक्तिनाथ विकास बैंकले चौथो त्रैमाससम्म खुद नाफा र सञ्चालन नाफामा वृद्धि हासिल गरेको छ। तर वितरणयोग्य मुनाफामा उल्लेख्य गिरावट र खराब कर्जा अनुपातमा भएको वृद्धिले बैंकको वित्तीय प्रदर्शनमा सुधारसँगै केही चुनौती पनि कायम रहेको देखाउँछ।

प्रतिक्रिया 0