काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित लाभांशमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सभाले अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा बैंकको एकीकृत वित्तीय विवरणसमेत अनुमोदन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। सो अवधिमा बैंकको सञ्चालन मुनाफा करिब ९ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।
आर्थिक वर्षको अन्त्यसम्म बैंकको कुल निक्षेप करिब ७ खर्ब ४४ करोड रुपैयाँ र कर्जा लगानी करिब ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो। ४ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा प्रबन्धपत्र र नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत पारित गरेको छ।
अध्यक्ष ढकालले आगामी दिनमा बैंकले डिजिटल बैंकिङ, व्यवसाय विस्तार, जोखिम व्यवस्थापन तथा कर्जा गुणस्तर सुधारलाई प्राथमिकता दिने बताएका छन्। बैंकका अनुसार हाल ७७ जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।
यसैबीच, बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ। दुई दशकको यात्रा पूरा गरेको बैंकले आगामी दिनमा पुँजी सुदृढीकरण, डिजिटल सेवा विस्तार, जोखिम व्यवस्थापन र सेयरधनीलाई दिगो प्रतिफल दिने रणनीतिलाई प्राथमिकतामा राख्ने जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0