काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै विस्थापित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्ती, सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ। सयौं मानिसको ज्यान गएको तथा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।
बाढीका कारण बैंकिङ क्षेत्रसमेत प्रभावित भएको छ। नेपाल बैंकर्स संघका अनुसार रसुवामा मात्रै नौ वाणिज्य बैंकका शाखा प्रभावित भएका छन् भने करिब २६ बैंक कर्मचारी सम्पर्कविहीन भएका थिए। प्रभावित बैंकमध्ये ग्लोबल आइएमई बैंकको शाखासमेत रहेको छ। सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा शाखा र कर्मचारीको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भएको छ ।
विपद्को यस्तो अवस्थामा ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ठूलो रकम सहयोग घोषणा गरेको हो।
प्रतिक्रिया 0