काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा नगद सहयोग उपलब्ध गराएको हो । उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको बैंकले जनाएको छ ।
नगद आर्थिक सहयोगसँगै एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को सामना गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ ।
एभरेस्ट बैंकले विपद्का बेला प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।
No advertisements available
प्रतिक्रिया 0