काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन ८० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा कुल निक्षेप ८० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ५९ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्र ७२ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी ५२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी विकास बैंक तथा वित्त कम्पनीहरूमा ७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप र ६ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७२.८३ प्रतिशत छ। यसले निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर रहेको देखाउँछ। नियामकीय सीमा ९० प्रतिशतको तुलनामा सीडी रेसियो निकै तल रहेकाले बैंकहरूसँग थप कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको विश्लेषण गरिएको छ।
यसैबीच, अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमै स्थिर रहेको छ। अन्तरबैंक दर न्यून स्तरमा रहनुले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गर्छ। बैंकहरूबीच अल्पकालीन रकमको अभाव नरहेको र बजारमा लगानीयोग्य स्रोत पर्याप्त रहेको तथ्यांकले देखाएको छ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार निक्षेप निरन्तर बढिरहेको भए पनि उद्योग, व्यापार, निर्माण तथा अन्य उत्पादनमूलक क्षेत्रमा कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। परिणामस्वरूप बैंकहरूमा ठूलो परिमाणमा रकम थुप्रिने अवस्था देखिएको छ।
प्रतिक्रिया 0