काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो भौतिक सञ्जाल घटाउँदै डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएको देखिएको छ। यस अवधिमा बैंकहरूको शाखा संख्या र एटीएम दुवै घटेका छन् भने मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता उल्लेख्य रूपमा बढेका छन्।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार साउनमा ६,५२६ वटा रहेको बैंक शाखा संख्या जेठसम्म ६,३५८ वटामा झरेको छ। अर्थात् ११ महिनामा १६८ शाखा घटेका छन्।
त्यसैगरी एटीएम संख्या ५,२६४ बाट ५,१५६ मा झर्दा १०८ वटा एटीएम घटेका छन्। यसले बैंकहरूले सञ्चालन खर्च घटाउने तथा डिजिटल माध्यमलाई प्राथमिकता दिने रणनीति अवलम्बन गरिरहेको संकेत गर्छ।
यद्यपि, शाखा र एटीएम घटे पनि बैंकिङ सेवाको पहुँच भने डिजिटल माध्यमबाट विस्तार भएको देखिन्छ।
समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७९ लाख ८८ हजार ७०८ बाट ३ करोड १ करोड ६ लाख ४० पुगेका छन्। अर्थात् २१ लाख ७१ हजार ३३२ नयाँ प्रयोगकर्ता थपिएका छन्।
त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ता २२ लाख ५० हजार ७७२ बाट २४ लाख ५५ हजार ९८० पुगेका छन्। यस अवधिमा २ लाख ५ हजार २०८ प्रयोगकर्ता थपिएका छन्।
बैंक निक्षेप खाताको संख्या पनि ६ करोड १ लाख ५८ हजार ४३३ बाट ६ करोड ३० लाख ६५ हजार ९९४ पुगेको छ। यसबीच २९ लाख ७ हजार ५६१ नयाँ निक्षेप खाता थपिएका छन्।
ऋण खाताको संख्या १९ लाख ६९ हजार २४७ बाट २० लाख ४८ हजार ९८५ पुगेको छ, अर्थात् ७९ हजार ७३८ ऋण खाता थपिएका छन्।
यस्तै डेबिट कार्डको संख्या भने १ करोड ३६ लाख ६१ हजार ८२१ बाट १ करोड ३९ लाख ८७ हजार ५५५ पुगेको छ। यस अवधिमा ३ लाख २५ हजार ७३४ नयाँ डेबिट कार्ड जारी भएका छन्।
विश्लेषकहरूका अनुसार बैंकहरूले शाखा विस्तारभन्दा डिजिटल बैंकिङ, मोबाइल एप, क्यूआर भुक्तानी, इन्टरनेट बैंकिङ तथा सेल्फ–सर्भिस च्यानल मा लगानी बढाइरहेकाले आगामी दिनमा पनि शाखा र एटीएमको वृद्धिदर सीमित रहने सम्भावना छ। साथै, सञ्चालन खर्च (Cost Optimization) नियन्त्रण र डिजिटल रूपान्तरणलाई तीव्र बनाउने रणनीतिका कारण भौतिक पूर्वाधारभन्दा प्रविधिमै बैंकहरूको प्राथमिकता बढ्दै गएको देखिन्छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया 0