काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाउँदै लगेपछि बचतकर्ताको आकर्षण जीवन बीमा कम्पनीका बचतमुखी तथा मुद्दती प्रकृतिका योजनातर्फ बढ्न थालेको छ। बैंकमा औसत मुद्दती निक्षेपको ब्याजदर अहिले ३–४ प्रतिशत को हाराहारीमा झरेको बेला केही जीवन बीमा योजनाबाट ७–८ प्रतिशतसम्मको प्रतिफल प्राप्त हुने अपेक्षाले बचतकर्ताहरू बीमातर्फ आकर्षित हुन थालेको बीमा क्षेत्रका अधिकारीहरू बताउँछन्।
बीमा कम्पनीहरूका अनुसार बैंकको मुद्दती निक्षेपको तुलनामा जीवन बीमाका बचतमुखी योजनाले बचत, बीमा सुरक्षा र दीर्घकालीन प्रतिफल एकैसाथ प्रदान गर्ने भएकाले ग्राहकको चासो उल्लेखनीय रूपमा बढेको छ। पछिल्ला दिनहरूमा विभिन्न जीवन बीमा कम्पनीमा करोडौं रुपैयाँ बराबरका बीमा पोलिसी बिक्री भइरहेको र नयाँ ग्राहकको आगमन पनि बढ्दो क्रममा रहेको बीमा क्षेत्रको दाबी छ।
बीमा योजनाको अर्को आकर्षण भनेको बीमा अवधिभर जोखिम सुरक्षा प्राप्त हुनु हो। बीमितको मृत्यु वा अन्य बीमाले समेट्ने जोखिमको अवस्थामा परिवारले आर्थिक सुरक्षा पाउने व्यवस्था रहन्छ भने परिपक्वतापछि बचत रकमसँगै बोनस वा प्रतिफल पनि प्राप्त हुने सम्भावना हुन्छ। यही कारण बैंकमा मात्र बचत गर्ने धेरै ग्राहक अहिले आफ्नो रकमको केही हिस्सा बीमा योजनामा पनि लगानी गर्न थालेको बीमा कम्पनीहरूको भनाइ छ।
यद्यपि, बैंकको मुद्दती निक्षेप र बीमा योजनाबीच केही महत्वपूर्ण भिन्नता पनि छन्। बैंकमा राखिएको मुद्दती निक्षेप धितो राखेर जुनसुकै बेला ऋण लिन सकिने सुविधा हुन्छ। तर अधिकांश जीवन बीमा योजनामा बीमा ऋण (Policy Loan) भने सामान्यतया पोलिसी जारी भएको तीन वर्षपछि आवश्यक समर्पण मूल्य (Surrender Value) सिर्जना भएपछि मात्र उपलब्ध हुन्छ। त्यसैले तत्काल तरलता आवश्यक पर्ने ग्राहकले यो पक्षलाई पनि ध्यानमा राखेर निर्णय गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
वित्तीय विश्लेषकहरूका अनुसार बैंकको घट्दो ब्याजदरका कारण वैकल्पिक बचत तथा लगानीका साधनप्रति रुचि बढ्नु स्वाभाविक हो। तर बैंकको मुद्दती निक्षेप र जीवन बीमा फरक उद्देश्यका वित्तीय उत्पादन भएकाले प्रतिफल मात्र नभई तरलता, जोखिम सुरक्षा, लगानी अवधि, बोनसको संरचना र व्यक्तिगत वित्तीय आवश्यकता समेत मूल्यांकन गरेर उपयुक्त विकल्प छनोट गर्नुपर्ने उनीहरूको भनाइ छ।
प्रतिक्रिया 0