नागरिक लगानी कोषका सहभागीले मनकामना अस्पतालमा छुट पाउने

बिहीबार, १० मंसिर २०८३, बिहान ६:३९


काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा स्वास्थ्य उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

नागरिक लगानी कोष र मनकामना अस्पताल प्रालिबीच भएको सम्झौताअनुसार अस्पतालले कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने भएको हो।

सम्झौताअनुसार सामान्य स्वास्थ्य सेवामा २० प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, सिटी स्क्यान तथा अपरेसन सेवामा थप १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।

सम्झौतापत्रमा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्न कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ। सहभागीहरूले कोषमा आबद्ध भएको प्रमाणपत्र वा पहिचान खुल्ने अन्य आवश्यक कागजातसमेत देखाउनुपर्ने व्यवस्था गरिएको छ।

यस सहकार्यबाट चितवन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिक लगानी कोषका सहभागीहरूलाई स्वास्थ्य उपचार खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ।

नागरिक लगानी कोषले आफ्ना सहभागीहरूको हित तथा सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया 0