नाडा अटो शो : बैंकहरुबीच अटो लोन प्रतिस्पर्धा

प्रिमियममा छुट, बेसरेटमै कर्जा र १० वर्षसम्मको सुविधा

बुधबार, १० भदौ २०८३, बिहान १०:४२

काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न किसिमका अटो लोन स्किम सार्वजनिक गरेका छन्। बैंकहरूले सस्तो ब्याजदर, स्थिर ब्याजदर, न्यून सेवा शुल्कदेखि प्रिमियममा छुटसम्मका योजना ल्याएका हुन्।

अटो शोमा विशेषगरी ईभी खरिदका लागि कर्जा, निश्चित अवधिका लागि फिक्स्ड ब्याजदर र लामो अवधिको अटो लोनलाई प्राथमिकता दिइएको देखिन्छ। यसले नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई आफ्नो बजेटअनुसार कर्जा योजना छनोट गर्ने अवसर दिएको छ।

४.९४ प्रतिशतदेखि अटो कर्जा

बैंकहरूले सार्वजनिक गरेका योजनामध्ये नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेको छ। बैंकले बेसरेटमा ०.४९ प्रतिशत प्रिमियम जोडेर कर्जा दिने योजना ल्याएको हो।

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको छ। बैंकले अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क कायम गरेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ४.४२ प्रतिशत रहेको छ।

कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको छ। यस योजनामा कर्जाको अवधि अधिकतम १० वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ।

माछापुच्छ्रे बैंकले नाडा अटो शोलाई लक्षित गर्दै बेसरेटमा ०.५ प्रतिशत प्रिमियम थप गरी ५.४५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने योजना ल्याएको छ। कर्जाको अवधि अधिकतम १० वर्षसम्म रहनेछ र सेवा शुल्क ०.५० प्रतिशत लाग्नेछ।

लक्ष्मी सनराइज बैंकले पनि ५.४९ प्रतिशत ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सेवा शुल्क ०.५० प्रतिशत कायम गरेको छ।

स्थिर ब्याजदरमा पनि अटो लोन

एनआईसी एशिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ। बैंकले यस्तो कर्जा ७ वर्ष अवधिका लागि उपलब्ध गराउने जनाएको छ।

ग्लोबल आइएमई बैंकले ईभी खरिदका लागि ५.१७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ। बैंकले ७ वर्ष अवधिको कर्जामा पहिलो तीन वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर फिक्स गर्ने र त्यसपछि बेसरेटमा २ प्रतिशत प्रिमियम जोड्ने योजना ल्याएको छ।

ग्लोबल आइएमईको अटो कर्जामा सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ।

ईभीदेखि इन्धन गाडीसम्म कर्जा

राष्ट्रिय वाणिज्य बैंकले ईभी र इन्धनबाट चल्ने दुवै प्रकारका सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराइरहेको छ। बैंकले ७ वर्ष अवधिको अटो कर्जाको ब्याजदर ५.०२ प्रतिशत कायम गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी ५.१३ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको छ। यस योजनामा प्रोसेसिङ शुल्क ०.५० प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

प्रभु बैंकले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी अटो कर्जा दिने योजना ल्याएको छ। बैंकको हालको बेसरेट ४.९४ प्रतिशत रहेको छ।

प्रिमियममै छुट, बेसरेटमै कर्जा

कृषि विकास बैंकले अटो कर्जाको प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ। बैंकको हालको बेसरेट ४.६६ प्रतिशत रहेको छ।

मुक्तिनाथ विकास बैंकले भने बेसरेटमै अटो कर्जा दिने घोषणा गरेको छ। बैंकको हालको बेसरेट ५.५४ प्रतिशत रहेको छ। बैंकका अनुसार यो योजना भदौ मसान्तसम्म लागू हुनेछ।

वाणिज्य बैंकहरू मात्र नभई विकास बैंक तथा वित्तीय संस्थाहरूले पनि नाडा अटो शोको अवसरलाई लक्षित गर्दै विभिन्न कर्जा तथा अफर सार्वजनिक गरेका छन्। महालक्ष्मी विकास बैंकलगायतका संस्थाहरूले अटो शोमै स्टल राखेर आफ्ना कर्जा योजनाको प्रचार गरिरहेका छन्।

ग्राहकका लागि अवसर

नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा बढाएसँगै सवारी खरिदकर्ताका लागि विकल्प पनि बढेको छ। तर कर्जा छनोट गर्दा ब्याजदर मात्र नभई फिक्स्ड वा फ्लोटिङ दर, सेवा तथा प्रोसेसिङ शुल्क, कर्जाको अवधि, प्रिमियम र ब्याजदर परिवर्तन हुने अवस्था समेत हेर्नुपर्ने हुन्छ।

यस वर्षको अटो शोमा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा अटो कर्जा योजना अघि सारेकाले सवारीसाधन खरिदकर्ताबीच बैंकिङ अफर पनि शोको महत्वपूर्ण आकर्षण बनेको छ।

प्रतिक्रिया 0