राष्ट्रिय परिचयपत्र अद्यावधिक भन्दै ठगी गर्ने गिरोह सक्रिय

बुधबार, १३ श्रावण २०८३, बिहान ६:५१
Font Size: 20px

काठमाडौं। राष्ट्रिय परिचयपत्र (एनआईडी) अद्यावधिक गरिदिने भन्दै नक्कली वेबसाइट, एसएमएस, इमेल तथा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गतिविधि बढ्दै गएको छ। सम्बन्धित निकायले यस्ता भ्रामक सन्देश र लिंकप्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

ठगी गर्ने समूहले एनआईडी अद्यावधिक नगरे सेवा बन्द हुने, कार्ड निष्क्रिय हुने वा विवरण तत्काल सच्याउनुपर्ने जस्ता सन्देश पठाएर नागरिकलाई नक्कली वेबसाइटमा प्रवेश गराउने र त्यहाँ व्यक्तिगत विवरण, बैंक खाता, एटीएम कार्ड, ओटीपी तथा पासवर्ड माग्ने गरेका छन्।

सम्बन्धित निकायले आधिकारिक सूचना र सेवा बाहेक अन्य कुनै लिंक वा वेबसाइटमा व्यक्तिगत तथा बैंकिङ विवरण उपलब्ध नगराउन आग्रह गरेको छ। शंकास्पद सन्देश प्राप्त भएमा त्यसको सत्यता आधिकारिक माध्यमबाट मात्र पुष्टि गर्न र कुनै पनि ओटीपी वा गोप्य जानकारी कसैसँग साझा नगर्न पनि अनुरोध गरिएको छ।

ठगिनबाट बच्न यी कुराहरुमा ध्यान दिनुहोस 

  • एनआईडी अद्यावधिक गर्न आएको अपरिचित फोन, एसएमएस वा इमेलमा विश्वास नगर्नुहोस्।
  • आधिकारिक सरकारी वेबसाइट वा सम्बन्धित कार्यालयबाट मात्र सेवा लिनुहोस्।
  • कुनै पनि ओटीपी, पासवर्ड, पिन वा सिभिभी नम्बर कसैलाई नदिनुहोस्।
  • सामाजिक सञ्जाल वा सन्देशमा आएका शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
  • बैंक खाता वा मोबाइल बैंकिङको विवरण अपरिचित व्यक्तिलाई नदिनुहोस्।
  • शंका लागेमा सम्बन्धित निकाय वा आफ्नो बैंकमा तत्काल सम्पर्क गरी सत्यता बुझ्नुहोस्।

साइबर सुरक्षासम्बन्धी जानकारहरूका अनुसार नागरिकको सानो लापरबाहीले ठूलो आर्थिक क्षति हुन सक्छ। त्यसैले राष्ट्रिय परिचयपत्र वा कुनै पनि सरकारी सेवाको नाममा आउने शंकास्पद सन्देशप्रति सतर्क रहन र आधिकारिक स्रोतबाट मात्र सूचना लिन सबैलाई आग्रह गरिएको छ।।

प्रतिक्रिया 0