माछापुच्छ्रे बैंकले ल्यायो ‘आईटी लोन’ योजना

बिहीबार, १४ श्रावण २०८३, बिहान ११:२१
Font Size: 20px

काठमाडौं। माछापुच्छ्रे बैंकले सूचना प्रविधि (IT) तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई लक्षित गर्दै ‘आईटी लोन’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत सफ्टवेयर विकास, SaaS प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ (ML), साइबर सुरक्षा, फिनटेक तथा अन्य प्रविधिमा आधारित व्यवसायले सहुलियतपूर्ण वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार निजी लिमिटेड कम्पनी, साझेदारी फर्म, एकल स्वामित्वका व्यवसाय तथा सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी तथा डिजिटल सेवा प्रदायक संस्थाहरू यस कर्जाका लागि योग्य हुनेछन्।

कर्जा लिनका लागि व्यवसाय कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, वार्षिक कारोबार न्यूनतम ५० लाख रुपैयाँ भएको, PAN/VAT दर्ता भएको तथा पछिल्लो लेखापरीक्षण प्रतिवेदनअनुसार नाफामा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यस योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको सीमा भने व्यवसायको वित्तीय अवस्था, लगानी आवश्यकता तथा बैंकको कर्जा मूल्यांकनका आधारमा निर्धारण गरिने बैंकले जनाएको छ।

बैंकले यस योजनामार्फत प्रोजेक्ट लोन, वर्किङ क्यापिटल लोन, टर्म लोन तथा एक्सपोर्ट बिल्स डिस्काउन्टिङ सुविधा उपलब्ध गराउने जनाएको छ। प्रविधिमा आधारित उद्यमशीलता, डिजिटल नवप्रवर्तन र स्टार्टअप इकोसिस्टमलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो।

प्रतिक्रिया 0