काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रविन सिजापति नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो। नियुक्तिसँगै उनले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन्।
चार्टर्ड एकाउन्टेन्ट (सीए) सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब अढाई दशकभन्दा लामो अनुभव रहेको छ। उनले सन् १९९८ मा चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका थिए। उनको बैंकिङ करियरको सुरुवात नेपाल राष्ट्र बैंकबाट भएको थियो, जहाँ उनले ६ वर्षभन्दा बढी समय उपनिर्देशकका रूपमा काम गरेका थिए।
राष्ट्र बैंकपछि तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकमा आबद्ध भएका सिजापतिले आन्तरिक लेखापरीक्षण, शाखा तथा क्षेत्रीय व्यवस्थापन, सञ्चालन, आन्तरिक नियन्त्रण र कर्जा व्यवस्थापनलगायतका क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक हुँदै नायब महाप्रबन्धक तहसम्म पुगेका थिए।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उनी वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। त्यहाँ उनले कर्जा व्यवस्थापन, वित्तीय विश्लेषण, जोखिम नियन्त्रण तथा बैंक व्यवस्थापनसँग सम्बन्धित उच्च तहका जिम्मेवारी सम्हालेका थिए।
सिजापतिलाई नयाँ नेतृत्वका रूपमा नियुक्त गरेसँगै सांग्रिला डेभलपमेन्ट बैंकले उनको लामो बैंकिङ अनुभव तथा वित्तीय क्षेत्रको प्राविधिक ज्ञानबाट लाभ लिने अपेक्षा गरेको छ। नयाँ नेतृत्वमा बैंकले व्यवसाय विस्तार, कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन, डिजिटल बैंकिङ तथा ग्राहक सेवा सुदृढीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुयोग श्रेष्ठले सम्हाल्दै आएका थिए। श्रेष्ठको आठ बर्षे कार्यकाल पूरा भएपछि सिजापतिले बैंकको नयाँ कार्यकारी नेतृत्व सम्हालेका हुन्।
No advertisements available
प्रतिक्रिया 0