ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

सोमबार, ९ कार्तिक २०८३, दिउँसो ३:२४


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ बाट प्रदान गरिने सन् २०२६ को ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ। यससँगै बैंक लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए। समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्याङ्कनका प्रमुख आधार बनाएको जनाएको छ।

अवार्ड समारोहमा चीनको बैंक अफ चाइना र आइसीबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक तथा जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू पनि विभिन्न विधामा सम्मानित भएका थिए।

ग्लोबल आइएमई बैंकका अनुसार यो सम्मानले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न तथा आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवाको विकासलाई निरन्तरता दिन थप प्रोत्साहन गरेको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक भएको बैंकले जनाएको छ। यसअघि बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बेष्ट बैंक नेपाल’ को उपाधि सन् २०२४, २०२५ र २०२६ मा लगातार प्राप्त गरेको हो।

प्रतिक्रिया 0