ग्लोबल आइएमई बैंकको ३ अर्ब लगानीमा अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने

शनिबार, २१ कार्तिक २०८३, राति ८:२८


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा करिब ३ अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ। करिब १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बैंकले राखेको छ। धनतेरसको अवसर पारेर शुक्रबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन्।

बैंकका अनुसार प्रस्तावित भवन वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा ठूलो र सुविधासम्पन्न भवनमध्ये एक हुनेछ। भवन निर्माणका लागि संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण काममा करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको विश्वास र सहयोगले ग्लोबल आइएमई बैंक यस स्थानमा आइपुगेको बताए। आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालन गर्ने उद्देश्यसहित केन्द्रीय कार्यालय निर्माणको परियोजना अघि बढाइएको उनले जानकारी दिए।

नयाँ भवन निर्माण सम्पन्न भएपछि बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागलाई एउटै छानामुनि ल्याउन सकिने अपेक्षा गरिएको छ। यसबाट कार्यालय सञ्चालन थप व्यवस्थित हुनुका साथै आन्तरिक समन्वय, कार्यसम्पादन र सेवा प्रवाहमा समेत सहजता आउने बैंकको विश्वास छ।

प्रतिक्रिया 0