हिमाली समुदायको उत्थानशीलताका लागि हरित वित्त प्रवर्द्धनमा ईसिमोडको पहल

बिहीबार, १० मंसिर २०८३, बेलुका ७:५९


काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका हिमाली समुदायलाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन तथा उनीहरूको उत्थानशीलता बढाउन हरित वित्त प्रवर्द्धनमा जोड दिइएको छ। जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र दिगो जीविकोपार्जनका क्षेत्रमा लगानी विस्तार गर्न हरित वर्गीकरण (Green Taxonomy) को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयमा छलफल भएको हो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) ले नोभेम्बर २३ र २४, २०२६ मा हिन्दुकुश हिमालय क्षेत्रका लागि हरित वर्गीकरण तथा दिगो वित्तसम्बन्धी क्षेत्रीय कार्यशाला आयोजना गरेको छ। कार्यशालामा विभिन्न देशका केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, नीतिनिर्माता र प्राविधिक विज्ञहरूको सहभागिता रहेको थियो।

कार्यशालामा सहभागीहरूले आ–आफ्नो देशमा हरित वित्तीय ढाँचा सुदृढ बनाउने, अनुभव आदानप्रदान गर्ने तथा हिमाली क्षेत्रका प्राथमिकतालाई लगानी निर्णयमा समेट्ने विषयमा छलफल गरेका थिए। विशेषगरी जलवायु अनुकूलन र उत्थानशीलतालाई वित्तीय लगानीको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो।

हरित वर्गीकरणले वातावरणीय तथा जलवायुसम्बन्धी लाभ पुर्‍याउने आर्थिक गतिविधि पहिचान गर्न स्पष्ट मापदण्ड उपलब्ध गराउँछ। यसले बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री र जलवायु अनुकूल परियोजनामा लगानी केन्द्रित गर्न सहयोग पुर्‍याउँछ। साथै, हरित वित्तको प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन पनि यस्तो वर्गीकरण महत्त्वपूर्ण मानिन्छ।

हिमाली क्षेत्र जलवायु परिवर्तनका प्रभावप्रति अत्यन्त संवेदनशील रहेकाले यहाँको आवश्यकता अनुसार लक्षित लगानी आवश्यक देखिएको छ। हिमपहिरो, बाढी, हिमताल विस्फोटजन्य बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरणसँगै स्थानीय समुदायको जीविकोपार्जन र अनुकूलन क्षमता बढाउने क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्नुपर्ने चुनौती रहेको छ।

ईसिमोडको पहलले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूबीच हरित वित्तसम्बन्धी साझा बुझाइ विकास गर्न तथा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्ने अवसर प्रदान गरेको छ। यसबाट जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणलाई हरित वित्तीय ढाँचामा समेट्दै हिमाली क्षेत्रको आवश्यकताअनुसार दिगो लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त कार्यशाला ईसिमोडको Himalayan Resilience Enabling Action Programme (HI-REAP) अन्तर्गत बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोगबाट सञ्चालित Climate Action for a Resilient Asia (CARA) कार्यक्रमको सहयोगमा आयोजना गरिएको हो।

प्रतिक्रिया 0