काठमाडौं। एनएमबि बैंकले आर्थिक वर्ष २०२४/२५ को Carbon Disclosure Report सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय Partnership for Carbon Accounting Financials (PCAF) मापदण्डअनुसार आफ्नो Financed Emissions (वित्तपोषित हरितगृह ग्यास उत्सर्जन) को चौथो लगातार खुलासा गरेको छ। यस वर्षको प्रतिवेदनको विशेषता भनेको पहिलो पटक नेपाल-विशिष्ट (Nepal-specific) Emission Proxy Data प्रयोग गरी उत्सर्जनको गणना गरिएको हो, जसले नेपालको वास्तविक आर्थिक तथा औद्योगिक अवस्थालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ।
प्रतिवेदनअनुसार बैंकले व्यावसायिक कर्जा (Business Loans) र Project Finance अन्तर्गतको पोर्टफोलियोमा भएको हरितगृह ग्यास उत्सर्जनको मापन गरेको छ। खुद्रा (Retail) कर्जा भने यस पटकको अध्ययनमा समावेश गरिएको छैन। बैंकले आगामी वर्षहरूमा खुद्रा कर्जा पोर्टफोलियोलाई समेत समेट्दै जाने योजना बनाएको उल्लेख गरेको छ।
३.४८ लाख टन बराबर वित्तपोषित कार्बन उत्सर्जन
प्रतिवेदनअनुसार FY 2024/25 मा एनएमबि बैंकको कुल Financed GHG Emissions (Scope 1, Scope 2 र Scope 3) ३४८,४८२ टन CO₂e पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो। यो वृद्धि मुख्यतः बैंकको कर्जा पोर्टफोलियो १३ प्रतिशत विस्तार भएकाले भएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि प्रति एकाइ लगानीमा हुने Carbon Intensity भने ६ प्रतिशतले घटेको छ, जसले बैंकको कर्जा पोर्टफोलियो क्रमशः कम कार्बन उत्सर्जन हुने क्षेत्रतर्फ सर्दै गएको संकेत गर्छ।
FY 2024/25 मा बैंकको Business Loans तथा Project Finance अन्तर्गतको कुल Exposure १.३१९ अर्ब अमेरिकी डलर पुगेको छ। यसमध्ये Business Loans बाट १,८६,९४२ टन CO₂e तथा Project Finance बाट १,६१,५४० टन CO₂e बराबर उत्सर्जन भएको अनुमान गरिएको छ।
उत्पादन क्षेत्र सबैभन्दा बढी उत्सर्जन गर्ने
व्यावसायिक कर्जा पोर्टफोलियोमा Manufacturing (उत्पादन) क्षेत्र सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने क्षेत्र बनेको छ। यसपछि Wholesale Trade र Retail Trade क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यी तीन क्षेत्रले मात्रै Business Loan Portfolio को करिब ८९ प्रतिशत उत्सर्जन ओगटेका छन्। बैंकले यी क्षेत्रहरू देशको वास्तविक अर्थतन्त्रका लागि महत्त्वपूर्ण भए पनि ऊर्जा दक्षता र उत्सर्जन न्यूनीकरणमा ग्राहकसँग सहकार्य गर्ने नीति लिएको जनाएको छ।
Project Finance अन्तर्गत भने सिमेन्ट, फलाम तथा स्टिल उद्योग समेटिएको Manufacturing क्षेत्रले कुल उत्सर्जनको ७१ प्रतिशतभन्दा बढी योगदान दिएको छ भने जलविद्युत परियोजनाहरू समेटिएको Utilities क्षेत्र दोस्रो स्थानमा रहेको छ।
जलविद्युतमा लगानी बढ्दै, कार्बन घट्दै
प्रतिवेदनले बैंकको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी निरन्तर बढिरहेको देखाएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा सिमेन्ट उद्योगमा कर्जा ६ प्रतिशतले घटाएको तथा जलविद्युत पोर्टफोलियो ३३.४ मिलियन अमेरिकी डलरले बढाएको जनाएको छ। यसबाट मात्रै करिब ६,११९ टन CO₂e बराबर उत्सर्जन घटाउन सहयोग पुगेको उल्लेख छ।
८ हजार टनभन्दा बढी उत्सर्जन बचत
प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष Avoided Emissions हो। बैंकका अनुसार सञ्चालनमा आएका जलविद्युत तथा ग्रिडमा जोडिएका सौर्य ऊर्जा परियोजनाबाट आर्थिक वर्ष २०२४/२५ मा ८,०६८ टन CO₂e बराबर हरितगृह ग्यास उत्सर्जन हुनबाट जोगिएको छ। यो अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढी हो। यस वृद्धिको मुख्य कारण करिब १३० मेगावाट क्षमताका नयाँ जलविद्युत आयोजना सञ्चालनमा आउनु रहेको बैंकले जनाएको छ।
कोइला उद्योगमा नयाँ लगानी निरुत्साहित
बैंकले आफ्नो जलवायु रणनीतिअन्तर्गत कोइलामा आधारित नयाँ इँटा उद्योगमा लगानी नगर्ने, जलविद्युत, प्रसारण लाइन, स्वच्छ यातायात, हरित भवन, ऊर्जा दक्षता, सर्कुलर इकोनोमी, हरित हाइड्रोजन र ऊर्जा भण्डारणजस्ता क्षेत्रमा हरित वित्त विस्तार गर्ने नीति लिएको जनाएको छ। साथै ग्राहकहरूलाई पनि उत्सर्जन मापन र सार्वजनिक गर्न प्रोत्साहित गरिने उल्लेख छ।
एनएमबि बैंक सन् २०२० देखि PCAF को सदस्य रहँदै आएको छ र आफ्नो पाँचवर्षीय रणनीतिमार्फत ESG तथा दिगो बैंकिङलाई प्राथमिकतामा राखेको जनाएको छ। बैंकले नेपाल सरकारको सन् २०४५ सम्म Net Zero Emissions हासिल गर्ने लक्ष्यलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोराएको छ।
एनएमबि बैंकका प्रमुख प्रतिबद्धता (Sustainability Commitments)
दिगोपन रणनीति (Sustainability Strategies)
जलवायु तथा हरित वित्तसम्बन्धी रणनीति
बैंकको दीर्घकालीन जलवायु लक्ष्य (Climate Ambitions)
यस प्रतिवेदनमार्फत एनएमबि बैंकले वित्तपोषित कार्बन उत्सर्जनको पारदर्शी मापन तथा खुलासाप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। साथै, नवीकरणीय ऊर्जा, हरित वित्त र जलवायु उत्तरदायी बैंकिङलाई प्राथमिकता दिँदै नेपालमा दिगो वित्तीय प्रणाली निर्माणमा योगदान पुर्याउने आफ्नो रणनीतिलाई पनि निरन्तर अघि बढाएको जनाएको छ।
प्रतिक्रिया 0