बिपदलाई जलवायु संकटसँग जोडेर वैज्ञानिक अध्ययन गर्न बिज्ञको सुझाव
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडेर वैज्ञानिक अध्ययन गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयमा भएको छलफलमा विज्ञहरूले बाढीको वैज्ञानिक कारण पहिचानसँगै क्षति तथा नोक्सानीको यथार्थ मूल्यांकन गर्नुपर्नेमा जोड दिएका हुन्।
विज्ञहरूले हिमनदी, हिमपहिरो, तापक्रम वृद्धि तथा बरफ पग्लिने क्रमलगायतका विषयमा सूक्ष्म अध्ययन गर्नुपर्ने बताएका छन्। यस्ता विपद् भविष्यमा दोहोरिन नदिन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै हिमाली क्षेत्रमा जलवायुजन्य जोखिमको नियमित अनुगमन र अनुसन्धान आवश्यक रहेको उनीहरूको सुझाव छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको क्षतिलाई अन्तर्राष्ट्रिय जलवायु मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन्। विशेषगरी आगामी कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालले जलवायु न्याय, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु वित्तको विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव दिइएको छ।
मन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्दै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो दाबी बलियो बनाउनुपर्ने बताएकी छन्। उनले हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेका जोखिम र क्षतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउन ‘माउन्टेन एजेन्डा’लाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।
प्रतिक्रिया 0