काठमाडौं । जलवायु परिवर्तन, वन संरक्षण, स्वच्छ ऊर्जा, जलस्रोत संरक्षण तथा महामारी तयारीजस्ता विश्वव्यापी चुनौतीहरूको समाधानका लागि स्थानीय स्तरमा गरिने लगानीलाई आर्थिक रूपमा थप आकर्षक बनाउन विश्व बैंकले "Economics of a Livable Planet: Incentivizing Local Solutions with Global Benefits" अवधारणा सार्वजनिक गरेको छ। यस अवधारणाले विश्वव्यापी लाभ दिने परियोजनामा लगानी गर्ने देशहरूलाई थप वित्तीय प्रोत्साहन उपलब्ध गराउने नयाँ ढाँचा प्रस्तुत गरेको छ।
विश्व बैंकका अनुसार धेरै विकासशील तथा मध्यम आय भएका मुलुकहरूले वातावरण संरक्षण वा जलवायुमैत्री परियोजनामा लगानी गर्दा तत्काल आर्थिक प्रतिफल कम हुने भएकाले यस्ता कार्यक्रम अघि बढाउन कठिनाइ हुने गरेको छ। यही चुनौती समाधान गर्न Framework for Financial Incentives (FFI) नामक नयाँ वित्तीय संयन्त्र विकास गरिएको हो। यसअन्तर्गत वन संरक्षण, स्वच्छ ऊर्जा, जैविक विविधता संरक्षण, खाद्य सुरक्षा तथा महामारी नियन्त्रणजस्ता परियोजनामा लगानी गर्ने देशहरूले सहुलियतपूर्ण ऋण, लामो भुक्तानी अवधि, कम ब्याजदर तथा थप वित्तीय सहायता प्राप्त गर्न सक्नेछन्।
विश्व बैंकले यो मोडेलले विकास र वातावरणबीचको द्वन्द्वलाई कम गर्दै दुवैलाई सँगसँगै अघि बढाउने विश्वास व्यक्त गरेको छ। संस्थाका अनुसार प्राकृतिक स्रोतको संरक्षण केवल वातावरणीय आवश्यकता मात्र नभई आर्थिक विकास, रोजगारी सिर्जना, खाद्य सुरक्षा तथा दीर्घकालीन समृद्धिको आधार पनि हो। नयाँ प्रतिवेदनले स्वच्छ हावा, सुरक्षित पानी र स्वस्थ भूमिमा गरिएको लगानीले भविष्यमा उच्च आर्थिक प्रतिफल दिनुका साथै विश्वव्यापी जलवायु लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उल्लेख गरेको छ।
प्रतिवेदनले विश्वका ९० प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै रूपमा प्रदूषित हावा, भूमि क्षयीकरण वा पानीको अभावको असरमा रहेको जनाएको छ। विशेषगरी न्यून आय भएका मुलुकमा ८० प्रतिशतभन्दा बढी जनसंख्या यी तीनै प्रकारका वातावरणीय समस्याबाट एकैसाथ प्रभावित रहेको उल्लेख गरिएको छ। त्यसैले नीति निर्माण, हरित प्रविधिमा लगानी, पारदर्शी शासन तथा नियमित मूल्याङ्कनलाई दिगो आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि सारिएको छ।
विश्व बैंकका अनुसार स्थानीय रूपमा सफल हुने हरित परियोजनाले सम्बन्धित देशलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक प्रभाव पार्ने भएकाले अब यस्ता परियोजनालाई खर्च होइन, भविष्यको आर्थिक लगानीका रूपमा हेर्नुपर्ने समय आएको छ। FFI र Livable Planet Fund जस्ता नयाँ वित्तीय उपकरणमार्फत विश्वव्यापी हितमा योगदान दिने देशहरूलाई थप प्रोत्साहन उपलब्ध गराइने व्यवस्था गरिएको छ।
प्रतिक्रिया 0